समाचार

    पछिल्लो ६ महिनामा दर्ता भए १४५ उद्योग

    नवलपुर टुडे
    २०७९ माघ २१ | मध्यान्ह ०४:१० बजे

      काठमाडौं, माघ २१ । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कूल १४५ उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृितको तुलनात्मक विश्लेषण तथ्याङ्कअनुसार चालु आवको पुस मसान्तसम्ममा ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन् । 

      यी उद्योगमा स्वदेशी र विदेशी दुवै खालको लगानी रहेको छ । गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ताको सङ्ख्या कम हो । गत आवको पुस मसान्तसम्ममा ४६ ठूला, ५७ मझौता र ५२ साना गरी कूल १५५ उद्योग दर्ता भएको विभागको तथ्याङ्कमा देखिन्छ ।

      चालु आवको पुस मसान्तसम्ममा दर्ता भएका १४५ उद्योगमा रू एक खर्ब ३९ अर्ब बराबर लगानी प्रतिबद्धता आएको पनि विभागले जनाएको छ । यसवर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षको भन्दा कम हो । गत आवको पुस मसान्तसम्ममा रू एक खर्ब ९० अर्ब बराबर लगानी प्रतिवद्धता आएको देखिन्छ ।

      विभागका अनुसार हालसम्म नेपालमा कूल रू २७ खर्ब ६६ अर्ब लगानी प्रतिवद्धतासहित आठ हजार ९०९ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगमा ठूला उद्योग एक हजार ३४४, मझौता उद्योग दुई हजार ५८ र साना उद्योग पाँच हजार ५०७ रहेका छन् ।

      यसरी हालसम्म दर्ता भएका करिब नौ हजार उद्योगबाट प्रस्तावित रोजगारी ६ लाख ६७ हजार ३२३ जना रहेको पनि विभागले जनाएको छ । गत पुस मसान्तसम्ममा दर्ता भएका कूल १४५ उद्योगमध्ये १३३ उद्योगमा रू १७ अर्ब ३० करोड बराबर विदेशी लगानीको प्रतिबद्धता आएको छ । हालसम्म नेपालमा कूल पाँच हजार ६६४ विदेशी लगानी स्वीकृति भएको पनि विभागले जनाएको छ । 

      यसरी विदेशी लगानी स्वीकृत भएका उद्योगमा ठूला उद्योग ३२४, मझौला उद्योग ६२२ र साना उद्योग चार हजार ८१८ रहेका छन् । हालसम्म स्वीकृत कूल विदेशी लगानी प्रतिबद्धता भने रू चार खर्ब ३६ अर्ब बराबर रहेको विभागको तथ्याङ्कबाट देखिन्छ । यसरी विदेशी लगानी स्वीकृत गर्दा प्रस्तावित रोजगारीको सङ्ख्या दुई लाख ९९ हजार ९६१ जना छ ।

      नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । गत पुस मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छ ।

      चालु आवको ६ महिना अवधिमा एउटा प्याटेन्ट दर्ता, आठ वटा डिजाइन दर्ता र एक हजार ५५१ ट्रेडमार्क दर्ता भएको पनि विभागले जनाएको छ । विभागमा हालसम्म भएको कूल पेटेन्ट दर्ताको सङ्ख्या भने ८१ छ । त्यस्तै ३०० डिजाइन र ५७ हजार ५६६ ट्रेडमार्क दर्ता भइसकेको विभागले जनाएको छ । रासस

        कमेन्टहरु