नवलपरासीको कावासोतीमा भिड तथा दंगा नियन्त्रण सम्वन्धि नमूना अभ्यास कार्यक्रम प्रदर्शन सम्पन्न


कावासोती, माघ २० । पुर्बी नवलपरासीको जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीमा भिड तथा दंगा नियन्त्रण सम्वन्धि नमूना अभ्यास कार्यक्रम प्रदर्शन गरेको छ । कावासोतीस्थित टुबोर्ग खेल मैदानमा प्रदर्शन गरिएको हो ।
प्रयोगात्मक अभ्यासले भीड तालिममा सिकेका सीप र ज्ञानलाई कार्यक्षेत्रमा उपलव्धि हासिल गर्न मदत पुग्ने हुनाले कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नवलपुर टुडेलाई बताए ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको समुपस्थितिमा भएको कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारी र सिद्धार्थ बोर्डिङ स्कुलका विद्यार्थीहरुसमेत नमूना अभ्यास प्रदर्शनमा सहभागी रहेको थियो । प्रमुख जिल्ला अधिकारी लम्सालले शान्ति, सुरक्षा कायम गर्न र विभिन्न गतिविधिमा हुल दंगा नियन्त्रणमा प्रहरी प्रशासनको भूमिका धेरै महत्वपूर्ण हुने भएकाले संवेदनशील हुन र कार्यक्षेत्रमा आफ्ना सीप र अनुभवलाई मानवअधिकारका विषयमासमेत सचेत हुदै कार्य कौशलता देखाउनु पर्नेमा जोड दिए ।
नवलपुरको कावासोती नगरपालिका – ८ स्थित टुवोर्ग खेल मैदानमा भएको नमूना प्रदर्शनको प्रारम्भमा दंगा नियन्त्रणमा प्रहरीेले अवलम्वन गर्ने भीडको स्थिति अनुसार न्यून संख्याको कर्मचारी परिचालनदेखी भीड उत्तेजित र र्हिसात्मक अवस्थामा प्रवेश गर्ने चरणसम्म पुग्दा आवश्यकता अनुसार थप वल र साधनहरुको परिचालन, दंगा नियन्त्रणमा गिरफ्तार, घाईतेको उद्धार, सार्वजनिक तथा भौतिक सम्पत्तिको सुरक्षासमेतलाई ध्यान दिएर अभ्यासको नमूना प्रदर्शन गरिएको थियो ।





