‘नेपाली केटी’ एप बनाएर ठगी गर्ने गिरोह पक्राउ


ललितपुर, माघ २० । ‘नेपाली केटी’ नामको एप्लिकेसन बनाएर लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले शुक्रबार एक पत्रकार सम्मेलन गरी ठगी आरोपमा पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारत घर भई काठमाडौंको चाबहिल बस्ने २९ वर्षीय अवधेश कुमार, सप्तरी घर भई बौद्ध बस्ने ३४ वर्षीय दीलिपकुमार चौधरी, पर्साका ३३ वर्षीय अजय चौधरी भन्ने नगेन्द्र साह कानु, रौतहट घर भई हेटौंडा बस्ने २७ वर्षीया रविना चौधरी, बारा घर भई हेटौंडा बस्ने सन्तोष कुँवर, वीरगन्जका २८ वर्षीय राजु पटेल, २० वर्षीय साहिल परबैज र १९ वर्षीय शिवशंकर राउत रहेका छन् ।
ललितपुर प्रहरी परिसरका प्रमुख सिद्धविक्रम शाहका अनुसार केही समयअघि ललितपुर महानगरपालिका – १५ सातदोबाटो बस्ने एक जना पीडितले खाताबाट ह्याक गरी चार लाख रुपैयाँ झिकिएको भन्दै परिसरमा जाहेरी दिएका थिए । त्यसपछि परिसरले विशेष टोली गठन गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा प्रहरीले हेटौंडा, काठमाडौं र ललितपुरबाट उनीहरु आठ जनालाई सफ्टवेयरसहित पक्राउ गरेको हो ।
उनीहरूले काठमाडौं उपत्यका र हेटौंडामा बसेर यो धन्दा चलाइरहेका थिए । ठगी गर्ने समूहका नाइके राजु पटेल हुन् । उनीहरूले ‘नेपाली केटी’ भन्ने एप बनाएका थिए । जुन एप उनीहरूले ह्वाट्सएपमार्फत् विभिन्न मानिसलाई पठाउने गर्थे । ‘रियल नम्बर’ भन्ने एप प्रयोग गरी उनीहरूले ठूलो संख्यामा अपरिचित व्यक्तिहरूको नम्बर पाएको एसएसपी शाहले बताए ।
‘त्यो एप प्रयोग गरेर उनीहरूले थुप्रो नम्बरहरू निकाले । त्यसमा उनीहरूले त्यो एपको लिंक पठाउने गरेको देखियो,’ उनले भने, ‘ठेगाना पत्ता नलागोस् भनेर उनीहरूले भिपिएन पनि प्रयोग गरेको देखियो । जसले यहाँको नभएर अन्तै कुनै देशको ठेगाना देखाउँथ्यो । एपको लिंक खोल्नबित्तिकै फोनमा आफैं डाउनलोड हुने गरी सिस्टम बनाएका थिए ।’
यसरी मेसेजमा पठाएको एपको लिंक खोलेपछि ‘नेपाली केटी चाहिन्छ?’ भन्ने जस्ता मेसेजहरू फोनमा देखिन्थ्यो । एप फोनमा डाउनलोड भएसँगै ह्याक हुने गरेको उनले बताए । यस्तो एप बनाउने २० वर्षीय साहिल र १९ वर्षीय शिवशंकर रहेको खुलेको छ । उनीहरुले त्यस्तो एप बनाउन अनलाइनमार्फत सिकेको बताएका छन् । उनीहरूले इ-वालेटबाट विभिन्न बैंक खातामा पठाएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको एसएसपी शाहले बताए ।
उनीहरूले फोन ह्याक गरेर तत्कालै पैसा झिकि नहाल्ने डीएसपी दीपक भारतीले बताए । ‘तीन वटा लेयरमा काम गरेको देखिन्छ । एउटा व्यवस्थापक, आइटी र तेस्रो खालका मानिसहरूले कागजात संकलन गर्ने र पैसा झिक्ने गर्थे,’ उनले भने, ‘सन्तोष र नागेन्द्रलगायत एटिएमबाट पैसा झिक्ने भूमिकाका व्यक्तिहरू हुन् ।’
उनीहरूले पैसा पनि सीमानामा रहेका एटिएमबाट झिक्ने गरेको पाइएको छ । परिसरमा खाताबाट झिकिएको जाहेरी परेपछि प्रहरीले हेटौंडाबाट एक जनालाई पक्राउ गरेको थियो । त्यसपछि शृंखलाबद्ध रूपमा अन्यलाई पनि विभिन्न ठाउँबाट पक्राउ गरेको डिएसपी भारतीले बताए । यसमा विस्तृत अनुसन्धान गर्न बाँकी नै रहेको प्रहरीले जनाएको छ । तर यो समूहले थुप्रैलाई ठगी गरेको खुलेको छ ।
परिसरमा एक जना, साइबर ब्युरोमा ७ जना र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा १२ जनाले उजुरी दिएका छन् । साइबर ब्युरोमा २६ लाख ९१ हजार ६५० रुपैयाँ र अपराध अनुसन्धान कार्यालयमा २० लाखसम्म ठगिएको उजुरी परेको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनबाट बैंकिङ कसूरमा म्याद थप गरिएको प्रहरीले जनाएको छ ।





