समाचार

    वैदेशिक रोजगारीको प्रलोभन देखाइ भारत पुर्‍याइएका १२ महिलाको उद्दार

    नवलपुर टुडे
    २०७९ माघ २० | मध्यान्ह ०३:१० बजे

      काठमाडौं, माघ २० । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले १२ जना महिलालाई भारतबाट उद्दार गरेको छ । ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका विभिन्न नाकाहरूबाट मंसिर र पुस महिनामा भारत पुर्‍याइएका १२ जना महिलालाई उद्दार गरिएको जनाएको हो ।

      उनीहरूलाई भारतबाट दुवई हुँदै भिजिट भिसामा इथोपियामा बैदेशिक रोजगारीका लागि लैजाने प्रलोभन देखाइ भारतको जयपुरमा राखिएको प्रहरीले जनाएको छ । उद्दार गरिएका महिलाहरूमध्ये २०-३० वर्ष उमेर समूहका २ जना, ३१-४० वर्ष समूहका ८ र ४१ वर्षमाथिका २ जना रहेका  छन् ।

      महिला मानव बेचविखन ओसारपसार अपराधको उच्च जोखिममा रहेकाले तत्काल उद्दार गर्न ब्यूरोमा सूचना आएपछि नयाँ दिल्लीमा रहेको नेपाली दूतावास, भारतीय प्रहरी र नेपालस्थीत शान्ति पुनस्थार्पना केन्द्रको सहकार्यमा उनीहरूको उद्दार गरिएको ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

      नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काकडभित्ता, जमुनाह, सुनौलीलगायतका नाकाहरू प्रयोग हुने गरेको उनले बताए । मानव बेचविखनको घटनामा नेपाल र भारतीय नागरिक संलग्न हुनेसक्ने भन्दै उनीहरूको पहिचान गरि खोजतलास गर्न आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।

      त्यस्तै, ब्यूरोले नेपालबाट हराइकी एक बालिकाको पनि भारतबाट उद्दार गरिएको जनाएको छ । बालिकालाई भारतको तान्त्रीकलाई बेचबिखन गर्ने तयारी भइरहेको अवस्थामा उद्दार गरिएको ब्यूरोका निर्देशक श्रेष्ठले जानकारी दिए ।

      मामाघर गएकी बालिकालाई बन्धक बनाई भारतको पहाडगञ्ज नयाँदिल्ली पुराउने ६ जनाको गिरोहलाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु