जिप्रका नवलपरासीको १ महिनाको प्रगति विवरण : १ करोड ७३ लाख १८ हजार बराबरको राजश्व दाखिला


नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) ले १ महिनाको अवधीमा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) तथा मातहत प्रहरी ईकाई समेतबाट गत पुस १७ देखि माघ १८ गतेसम्म (१ महिनाको अवधिमा) जिल्लाका विभिन्न स्थानबाट १ करोड ६८ लाख २८ हजार ७ सय ६७ मूल्य बराबरको भन्सार छली विभिन्न अवैध मालसामान (चिनी, विभिन्न किराना सामान, हार्डवेयरको सामान, लत्ता कपडा, विभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा र पशु तथा चौपाया) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर तथा राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको छ ।
त्यसैगरी प्रहरीले यस अवधीमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न २२ वटा ट्याक्टरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको छ । जसबाट ३ लाख ४२ हजार ५ सय मुल्य बराबरको राजश्व दाखिला भएको छ । साथै यस अवधिमा प्रहरीले १ लाख ६२ हजार ५ सय मुल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) का प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार सो अवधीमा खुल्ला सीमानाको कारण अबैध रुपमा भन्सार छली ल्याएको बिभिन्न सामानहरु, ओसारपसारमा संलग्न ५ जना मानिसहरु, १२ वटा मोटरसाइकल र २ वटा ट्याक्टर समेतलाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ ।
साथै नवलपरासी (ब.सु.प) प्रहरीले चालु आर्थिक बर्षको श्रावण १ गतेदेखि हालसम्म ४ करोड २९ लाख ३० हजार ७ सय ६५ मुल्य बराबरको राजश्व दाखिला गरेको छ । जसमा ४ करोड २ लाख १५ हजार १ सय ६० मुल्य बराबरको अवैध रुपमा भन्सार छली ल्याएको विभिन्न मालसामान रहेको छ भने ११ लाख ८६ हजार २ सय ५० मुल्य बराबर अवैध नदिजन्य पदार्थ उत्खनन कारबाही र १५ लाख २९ हजार ३ सय ५५ मुल्य बराबरको अवैध वन पैदावर बरामद रहेको छ ।





