दुई किलो यार्सागुम्बासहित दुईजना पक्राउ

नवलपुर टुडे
२०७९ माघ १८ | मध्यान्ह १२:१० बजे

काठमाडौं, माघ १८ । प्रहरीले काठमाडौबाट दुई किलो बढी यार्सागुम्बासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले यार्सागुम्बाको अवैध कारोबार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका ३ स्थायी घर भएका २५ वर्षीय प्रकाश टमटा र जुम्ला गोठीचौर गाउँपालिका ५ स्थायी घर भएका ४० वर्षीय गोविन्द गिरी रहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा यार्सागुम्बाको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले टमटालाई नरेफाँटबाट र गिरीलाई नरदेवीबाट पक्राउ गरेको हो ।
उनीहरूको साथबाट २ किलो १३८ ग्राम यार्सागुम्बा बरामद भएको अपराध अनुसन्धान महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।





