पश्चिम नवलपरासी प्रहरीले ३ लाख ७८ हजार भन्दा बढी मुल्य बराबरको १३३ बोरा अवैध गहुँ बरामद


नवलपरासी, माघ १८ । पश्चिम नवलपरासी प्रहरीले ठूलो परिणामका अबैध गहुँ बरामद गरेको छ ।
आज बिहान ०६:०० बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याएको गहुँ प्रतापपुर गाउँपालिका – ५ बसहियास्थित कैलास हजामको घरमा लुकाई छिपाई राख्ने क्रममा बरामद गरिएको हो । बरामद गहुँ १३३ बोरा (६ क्विन्टल ५० केजी) रहेको छ । त्यसको अन्दाजी मूल्य ३ लाख ७८ हजार २ सयबराबरको छ ।
जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटि गएको प्रहरी टोली, ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले फेला पारी रितपुर्वक बरामद गरी आवश्यक कारबाहीको लागि मेशपुर भन्सार कार्यालय बुझाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भोजराज पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
साथै सो सम्बन्धमा गहुँ कसले ल्यायो, कसको हो भनी थप अनुसन्धान कार्य जारी रहेकोसमेत पाण्डेयले जानकारी दिएको छ ।
पछिल्लो समयमा पश्चिम नवलपरासीको सीमानाकाबाट हुने तस्कर नियन्त्रणमा पश्चिम नवलपरासीका सीमा सुरक्षा बल र नवलपरासी प्रहरीले कडाई गरेको छ ।





