पाल्पाको पूर्वखोलाका दुर्गम र भौगोलिक विकटताका क्षेत्रमा घुम्ती स्वास्थ्य शिविर सम्पन्न


असिम कामु मगर
पाल्पा, माघ १४ । पाल्पाको पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखाले सबै वडामा सञ्चालन गरिएको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा दुर्गम भेगमा बसोवास गर्ने १ हजार ३ सय ९३ जनाले सेवा लिएका छन् ।
पुर्वखोला गाउँपालिकाका ६ वडाका १ हजार १ सय ३० महिला र २ सय ६३ पुरुषले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले नवलपुर टुडेलाई बताए । पुर्वखोला गाउँपालिकाका वडा नम्बर १ का ३ सय १४, वडा २ का २ सय ३९, वडा ३ का ३ सय २९, वडा ४ का १ सय ४३, वडा ५ का २ सय ३३ र वडा ६ का १ सय ११ जनाले सेवा लिएको उनले बताए ।
गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीमा राखिएको एकीकृत घुम्ती स्वास्थ्य शिविरमा यौन तथा प्रजनन स्वास्थ्यका साथै आँखा जाँच गरिएको थियो । पाठेघरको मुखको क्यान्सर जाँच गर्ने भिआईए, इम्प्लान्ट, आईयूसीडीलगायत सेवा दिइएको गाउँपालिकाले जनाएको छ ।
नेपाल नेत्र ज्योति संघ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले प्राविधिक सहयोग गरेका हुन् । गाउँपालिकाका अनुसार आँखा सम्बन्धी समस्या भएका ८ सय १७ जनाले सेवा लिएका छन् ।
‘दुर्गम र भौगोलिक विकटताले अस्पतालसम्म पुग्न नसक्नेहरुका लागि शिविर राखेका हौं,’ स्वास्थ्य शाखा प्रमुख ढकालले भने, ‘रोग लुकाएर बस्ने र उपचारमा जान हेलचेक्राइँ गरेकाहरुको उपचार गर्न पाउँदा खुसी लाग्यो ।’ उनका अनुसार ६ वडामा आँखा जाँच शिविर राख्दा ४७ जनामा मोतिबिन्दु देखिएका छन् । मोतिबिन्दु देखिएकाहरुलाई शल्यक्रियाका लागि सल्लाह दिएको नेपाल नेत्र ज्योति संघका सन्तोष दर्जीले बताए ।
परिवार नियोजनसम्बन्धी लामो अवधिको परिवार नियोजनको सेवा ३९ जनाले लिएका छन् । पाठेघरको क्यान्सर जाँच ४ सय ४९ जनाले गरेको संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानले बताए । ६ वडाका आठ जनालाई पाठेघरको मुखको क्यान्सर सम्बन्धी लक्षण देखिएको उनले बताए । उनीहरुलाई थप परीक्षणका लागि तानसेन वा अन्य ठूला अस्पताल जान सल्लाह दिइएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष भागिरथी भट्टराईले आँखा जाँचपछि ४७ जनालाई गाउँपालिकाले माघ १७ गते निःशुल्क अप्रेसन गरिदिने बताइन् । शिविरमा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य सेवातर्फ डा. राकेश बज्राचार्यले सहजीकरण गरेका थिए । स्वास्थ्य परीक्षणसहित निःशुल्क औषधिसमेत वितरण गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।





