वरिष्ठ वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ एनएफएसद्वारा सम्मानित


काठमाडौ । वरिष्ठ वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलाई नेपाल फोरम अफ साइन्स जर्नालिस्ट (एनएफएसजे ) ले सम्मान गरेको छ ।
एनएफएसजेको नवौं वार्षिकोत्सवका आवसरमा विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धानमा निरन्तर सक्रिय भएर विज्ञानप्रविधिसँग सम्बन्धित सञ्चारसामग्री सरल भाषामा तयार गरी आमजनतालाई सुसूचित गरेको भन्दै सम्मान गरेको हो । श्रेष्ठले २०२० सालदेखि निरन्तर रुपमा विज्ञान लेखन गर्दै आएका छन् ।
उनले वैज्ञानिक अध्ययन, अनुसन्धानलाई सरल र स्पष्ट भाषामार्फत आमजनलाई सुसूचित गराउने काम गरेको र धेरैलाई विज्ञान लेखनमा आकर्षिक गरेको एनएफएसजेका सचिव गोविन्द पोखरेलले बताए । कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधिमन्त्री इन्जिनियर गणेश साहले वैज्ञानिक, अनुसन्धानदाता, उद्यमी र पत्रकारबीचको सहकार्यमा जोड दिँदै विधागत पत्रकारिताले प्राथमिकता पाउन थालेकामा खुशी व्यक्त गरे ।
नास्टका प्रवक्ता एवं प्रविधि संकायका प्रमुख रवीन्द्र ढकालले विज्ञानका समाचारहरु नेपाली मिडियामा पछिल्लो समय निरन्तर रुपमा आउन थालेको बताए । कार्यक्रममा एनएफएसजेका संस्थापक अध्यक्ष छत्र कार्कीले विज्ञान लेखनको इतिहास र वर्तमान अवस्था र चुनौती सम्बन्धमा प्रस्तुतिकरण दिएका थिए ।
उनले पत्रकारलाई एकत्रित गरी बढीभन्दा बढी जनचेतना जगाउन सघाउ पुर्याउने उद्देश्यले २०७० सालमा संस्था स्थापना गरिएको बताए ।
नास्टकी प्राज्ञ डाक्टर विजया पन्तले सदैव प्रयोगशालामा रमाउने वैज्ञानिक तथा अनुसन्धानदाताका खोज, आविष्कारलाई मुलुकको बजार प्रणालीमा जोडी देश र जनतालाई लाभान्वित तुल्याउने काममा विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियाशील पत्रकारको महत्त्वपूर्ण भूमिका रहने बताइन् ।





