प्रधानमन्त्री दाहालले गृह मन्त्रालय आफैंसँग राख्ने


काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालय आफैंसँग राख्ने भएका छन् ।
शुक्रवार सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका छन् । स्वतः पदमुक्त भए पनि उनले शुक्रबार बेलुका प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन् । ‘
अब गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछ,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँग गृह मन्त्रालय राख्दा सजिलो हुन्छ भन्ने सुझाव आएको छ ।’
लामिछाने पदमुक्त भएपछि दाहाल र एमाले अध्यक्ष ओलीबीच शनिबार छलफल हुनेछ । त्यसपछि सत्ता गठबन्धनको बैठकमा यसबारे निर्णय गर्ने तयारी छ । प्रधानमन्त्री नियुक्त भएपछि दाहालले गृह मन्त्रालय आफैंसँग राख्ने चाहना हुँदाहुँदै गठबन्धन दलबीच भागबन्डा मिलाउन लामिछानेलाई गृहमन्त्री नियुक्त गरेका थिए ।
‘शक्तिशाली’ मन्त्रालय नराखेकामा माओवादीभित्र दाहालको आलोचना भएको थियो । माओवादी सचिव लीलामणि पोखरलेले अब गृह मन्त्रालय माओवादीले राख्नुपर्ने बताए ।
‘प्रधानमन्त्री जुन पार्टीको हुन्छ, त्यही पार्टीले गृह र अर्थ मन्त्रालय राख्नुपर्ने हो । अरू नभए पनि अब गृह मन्त्रालय प्रधानमन्त्रीले राख्नुपर्छ ।’





