धनुषाको पिडारी चोकबाट ठूलो परिमाणमा लागुऔषधसहित चार जना पक्राउ


जनकपुरधाम, माघ १३ । धनुषा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गर्दै धनुषाको पिडारी चोकबाट लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषा र लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय जनकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पिडारी चोकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ स ०३५६ नम्बरको अटोरिक्सालाई चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको हो । अटोमा जुटको बोराभित्र लुकाइएको अवस्थामा १० वटा कार्टुनमा प्रतिबन्धित लागुऔषध एक्सिप्लोन (Exiplon) ४९३ बोतल फेला परेको थियो ।
लागुऔषध सँगै अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, सोही ठाउँ बस्ने ज ११ प.४४४६ नम्बरको मोटरसाइकलमा सवार चालक २२ वर्षीय भरोसी यादव, सोही मोटरसाइकलमा सवार २१ वर्षीय इसराइन नदाफ र ज.६ प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका– ४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
उक्त लागुऔषध भारतीय बजारबाट जनकपुरधाम भित्र्याएको खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





