समाचार

    वीरगन्जमा आफै कार्यरत मनि ट्रान्सफरबाट रकम लिइ फरार भएका ३ जना पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ १२ | मध्यान्ह ०५:१० बजे

      वीरगन्ज । पर्सामा आफू कार्यरत मनि ट्रान्सफर कम्पनीको रकम लिएर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१० का २२ वर्षीय आकाश साह, २२ वर्षीय सञ्जय साह र २१ वर्षीय महम्मद सकिर मिया रहेको छन,भने एक जना अझै फरार रहेको प्रहरीले जनाएका छन् ।

      आफू कार्यरत वीरगन्ज– १० स्थित माँ दुर्गे मनिट्रान्सफर प्रालिबाट मंगलबार उनीहरूले ४ लाख १४ हजार ८ सय रुपैयाँ आपसी मिलेमतोमा भागबण्डा गरी फरार भएका थिए ।

      मनि ट्रान्सफरका सञ्चालक विजय साह सर्राफले कृषि विकास बैंक वीरगन्ज शाखामा जम्मा गरी उक्त जम्मा गरेको रकमको भरपाई भौचर लिइ आउनको लागि उनीहरुलाई पठाएकोमा उनीहरुले बैंकमा रकम जम्मा नगरी आपसी मिलोमतोमा भागबण्डा लगाई फरार भएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा दिएका थिए ।

      जिप्रका पर्साबाट खटिएको प्रहरी टोलीले निजहरुलाई मंगलबार साँझ ५ बजे वीरगन्ज–१० बाटै नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट २ लाख २३ हजार ५ सय रुपैयाँ बरामदसमेत भएको छ ।

      उनीहरुलाई जिल्ला अदालतबाट ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा बुधबार ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको तथा फरार एकको पहिचान भइ सकेकाले उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

        कमेन्टहरु