सुनको मूल्य हालसम्मकै उच्च, नयाँ रेकर्ड कायम गर्ने क्रम जारी


काठमाडौँ, माघ १२ । नेपाली बजारमा सुनचाँदीकाे भाउले नयाँ रेकर्ड कायम गर्ने क्रम जारी रहेकाे छ । सुनको भाउ आज पनि बृद्धि भएर नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार (माघ १० गते) मात्रै सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, चाँदीको भाउ पनि अघिल्लो दुनको तुलनामा तोलामा १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ थियो ।





