गण्डकी प्रदेश

    नवलपुरको गैंडाकोट प्रहरी प्रमुखमा रीता पौडेल

    नवलपुर टुडे
    २०७९ माघ १२ | बिहान ०८:१० बजे

      कावासोती । इलाका प्रहरी कार्यालय गैंडाकोटको प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी निरीक्षक रीता पौडेल आएकी छन् ।

      नेपाल प्रहरी शिक्षालय भरतपुरबाट काजसरुवा भै गैंडाकोट आएकी प्रहरी निरीक्षक पौडेलले मंगलबारदेखि जिम्मेवारी सम्हालेकी हुन् । नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय बर्दिया दरबन्दी भएकी पौडेल नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिइन् ।

      जिम्मेवारी सम्हाल्दै प्रहरी निरीक्षक पौडेलले गैंडाकोट क्षेत्रको शान्तिसुरक्षामा कुनै कमी हुन नदिने बताएकी छन् । उनले समुदाय–प्रहरी साझेदारीमा नै शान्तिसुरक्षासँगसँगै विकृति र विसंगति न्यूनीकरणलाई प्राथमिकता दिने बताएकी छन् ।

      भारतको हैदराबादबाट इन्डियन पुलिस सर्भिस
      (आइपिएस) तालिम प्राप्त प्रहरी निरीक्षक पौडेल २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरेकी हुन् । उनले गैंडाकोट लागुऔषधको मुख्य नाकाको रुपमा देखिएको बताउँदै त्यसलाई रोक्न आफ्नो नेतृत्वको प्रहरी प्रशासन जिम्मेवारीपूर्वक लाग्ने बताइन् ।

      यसअघि इलाका प्रहरी कार्यालय गैंडाकोटमा कार्यरत प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठ नेपाल प्रहरी शिक्षालय भरतपुरमा सरुवा भएका छन् ।

      मंगलबार नै नेपाल प्रहरी, प्रदेश कार्यालय, पोखराका वरिष्ठ प्रहरी उपरीक्षक सुदर्शनप्रसाद कोइरालाले इलाका प्रहरी कार्यालय गैंडाकोटको निरीक्षण गरी आवश्यक निर्देशन दिएका छन् ।

        कमेन्टहरु