आजको मौसम : कतै वर्षाको सम्भावना छैन, तापक्रम बिस्तारै बढ्न थाल्यो


काठमाडौं, माघ १२ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । तापक्रम बिस्तारै बढ्न थालेको छ । यस क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा पुगेको छ ।
आज बिहान गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेस, वागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यत: सफा रहेको छ । बिहिबार बिहानको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज प्रदेश १, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक मौसम बदली रहने छ । मौसम बदली भए पनि वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





