समाचार

    सिन्धुपाल्चोकको ठोकर्पा पशु फार्ममा आगलागी हुँदा ५० लाखको क्षति

    नवलपुर टुडे
    २०७९ माघ ११ | मध्यान्ह ०८:१० बजे

      सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–२ ठोकर्पामा सञ्चालित ठोकर्पा पशु तथा कृषि फार्ममा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको छ ।

      बुधबार बिहान आगलागीमा परेर ८१ बाख्रा मरेको सुनकोसी–२ का वडाध्यक्ष पूर्णबहादुर महतले जानकारी दिए । करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने वडाध्यक्ष महतले बताए । आगलागीबाट फार्मको सम्पूर्ण भौतिक संरचनासमेत जलेर नष्ट भएको छ ।

      बाख्राका लागि आवश्यक दानलगायत अन्य सामग्रीसमेत जलेर नष्ट भएको वडाध्यक्ष महतले जानकारी दिए । स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । स्थानीय जालबहादुर केसीले रु दुई करोड बढी लगानीमा कृषि तथा पशु फार्र्म सञ्चालनको सुरुआत गरेका थिए । विदेशबाट फर्किएका एक जना आफन्तसहित मिलेर सञ्चालन गरेको फार्मबाट केही समयपछि नै उत्पादन सुरुआतको चरणमा भएपनि आगालागीबाट सबै क्षति भएको केसीले बताए । गाउँपालिकाले सहयोग गर्ने स्थानीय युवाको सक्रियतामा गाउँमा नै आयआर्जन गर्ने उद्देश्यले करोडौँको लगानीमा सञ्चालन भएको कृषि फार्ममा आगलागी भएपछि युवाको उत्साहलाई कायम नै राख्नका लागि सुनकोसी गाउँपालिकाले सहयोग गर्ने भएको छ ।

      आगलागीको स्थलगत निरीक्षणमा पुगेका गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले तत्कालको लागि गाउँपालिकाले रु पाँच लाख सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरे । त्यस्तै आगालागीबाट जलेको घर निर्माणका लागि विपद् प्राधिकरणमार्फत सहजीकरण गरेर गाउँपालिकाको समेत सहयोगमा घर निर्माण गरिदिने प्रतिबद्धता पनि अध्यक्ष तिमल्सिनाले गरे ।

      वडाध्यक्ष पूर्णबहादुर महतले पनि वडा, गाउँपालिका लगायत अन्य सरकारी, गैरसरकारी संघ संस्थासँग समन्वय गरेर कृषि फार्मलाई पुरानै अवस्थामा सञ्चालनका लागि आफूले पहल गर्ने प्रतिबद्धता गरे । 

        कमेन्टहरु