गण्डकी प्रदेश

    पोखरा जहाज दुर्घटना : छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

    नवलपुर टुडे
    २०७९ माघ ११ | मध्यान्ह १२:१० बजे

      काठमाडौं, माघ ११ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौं ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । 

      अस्पतालका फरेन्सिकविद डा तुलसी कँडेलले फरेन्सिक र फिंगर प्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । छ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनले बताए । ‘छ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिंगर प्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरू गरेका छौं,’ उनले भनेब।

      नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिने छ । उनले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमूना संकलन गर्ने कार्य भइरहेको जानकारी दिए । यो विधीबाट शव पहिचान गर्न कम्तीमा २२ दिन लाग्नेछ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौं ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । 

      गत माघ १ गते काठमाडौंबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो । रासस

        कमेन्टहरु