कैलालीका तीन पालिकामा देखियो दादुरा संक्रमित


धनगढी । कैलालीका तीनवटा पालिकाका चारजनामा दादुरा संक्रमण देखिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिकाका दुई तथा गौरीगंगा र गोदावरी नगरपालिकाका एक–एक गरी चारजनामा दादुरा रोगी देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
धनगढीका दुई बालकमा दादुराको लक्षण देखिएपछि नमुना संकलन गरेर परीक्षणका लागि ल्याबमा पठाइएको उनले बताए । स्वास्थ्य कार्यालयका दादुराविरुद्धको खोप लगाएका दुईजनालाई समेत दादुरा देखिएको हो ।
लुम्बिनी प्रदेशको बाँकेमा हालै दादुरा फैलिएको थियो । त्यहाँ करिब साढे दुई सय बालबालिकामा दादुरा पुष्टि भएको उल्लेख छ । संक्रमण फैलिन नदिन खोज र परीक्षण थालिएको कार्यालयका निमित्त प्रमुख धामीले बताए ।
धनगढी– १ को पशुपतिटोलमा दादुरा देखिएका र दादुराको लक्षण देखिएका चारमध्ये दुई बालक भारतबाट आएका हुन् ।
‘खोप नलगाएकामा दादुरा देखियो’
दादुराविरुद्धको खोप नलगाएका कारण बाँकेका बालबालिकामा दादुरा संक्रमण भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दुई सय ५१ दादुरा संक्रमित बालबालिकाको विश्लेषण गर्दा खोप नलगाएका एक सय १८ बालबालिकामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन् । खोप लगाएको–नलगाएको थाहा नभएको २५ जना अभिभावकले बताएको र एक सय आठ जना खोप लगाएका बालबालिका भएको बताइन् ।
‘खोपप्रति विश्वास नभएको र सामाजिक एवं धार्मिक अन्धविश्वासका कारण खोप नलगाएको देखिन्छ,’ उनले भनिन्, ‘खोप नलगाएकै कारण दादुरा संक्रमण भएको यकिन गर्न सकिन्छ ।’





