बोतल र जर्किन लगायतका भाडामा पेट्रोलियम पदार्थ बिक्री गर्न रोक

नवलपुर टुडे
२०७९ माघ ११ | बिहान ०९:१० बजे

काठमाडौं, माघ १० । खुला रूपमा बोतल र जर्किनलगायत भाडामा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले सम्पूर्ण पेट्रोल पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ ।
काठमाडौंका केही पेट्रोल पम्पहरुले बोतल र जर्किनलगायत भाँडामा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरिएको पाइएकोले गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सूचना जारी गर्दै पेट्रोलियम पदार्थलाई खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय एवं भौतिक क्षतिसमेत हुन सक्ने भन्दै पेट्रोल पम्पबाट सिधै सवारी साधनमा भर्न आग्रह गरेको छ ।
सूचना विपरीत जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थको बिक्री गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।






