गण्डकी प्रदेशमा अब ७ मन्त्रालय


पोखरा । गण्डकी प्रदेश सरकारले ७ ओटा मन्त्रालय बनाउने निर्णय गरेको छ । आइतबार बसेको सत्ता साझेदार दलको बैठकमा गण्डकी प्रदेशमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सहमतिमा निर्णय गरेको हो ।
यस्तै आजै मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने मुख्यमन्त्री खगराज अधिकारीको तयारी छ । गत २५ पुसमा नियुक्त भएर शपथ लिँदाकै दिन मुख्यमन्त्री अधिकारीले ३ जना विना विभागीय मन्त्री आफ्नो मन्त्रिपरिषदमा राखेका थिए ।
मुख्यमन्त्रीसँगै मन्त्रीको शपथ लिएका माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङले पनि विभागीय जिम्मेवारी पाएका छैनन् । आजै उनीहरुलाई मन्त्रालय टुंगाएर जिम्मेवारी तोक्ने मुख्यमन्त्री कार्यालय स्रोत बताउँछ ।






