जनकपुरधामका दुई युवकको भारतमा अपहरणकपछि हत्या


जनकपुर, माघ ८ । जनकपुरधामका दुई युवकको सीमावर्ती भारतीय गाउँमा हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका – ८ का २२ वर्षीय रोहित साह तथा सोही उपमहानगरपालिका – १३ का २३ वर्षीय विष्णु साहको भारत बिहारस्थित सितामढी जिल्लाको बेला परिहारमा हत्या भएको हो ।
गत पुस २७ गते रोहित र बिष्णु रोहितको मामाघर परिहार जान भनेर घरबाट निस्केका थिए । तर मामाघर पुग्नुअघि नै अज्ञात समूहले उनीहरुलाई अपहरण गरेको हुन सक्ने प्रहरीको दाबी छ । करिब ११ दिनदेखि सम्पर्कविहिन रहेका दुबै जनाको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले जानकारी दिए ।
डिएसपी रायका अनुसार दुवै जनालाई केही दिनअघि नै हत्या गरेको देखिन्छ । घटना हेर्दा डोरीले घाँटी थिचेर उनीहरुको हत्या गरेको जस्तो देखिने रायले बताए । उनीहरु जना भारत छिर्ने बित्तिकै अपहरणमा परेको परिवारको अनुमान छ । अपहरणकारीहरुले विष्णु साहका बुबा रामबाबु साहलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको थियो ।
अपहरणकारीहरुले विष्णुका बुबालाई घरि सीमावर्ती कुनै गाउँ त घरि सर्लाहीको मलंगवा बोलाउने गरेका थिए । तर उनीहरुले न फिरौतीको रकम नलिईकन दुवै जनाको हत्या गरे । घटना अनुसन्धानको क्रममा नेपाल र भारतका संयुक्त प्रहरी टोलीले सम्भावित स्थानहरुमा छापा मारेका थिए । यसै क्रममा शव गाडिएको स्थान फेला परेको थियो ।
मृतकका परिवारका सदस्यहरुलाई गरेको फोन नम्बरको आधारमा नेपालका दुई तथा भारतका तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।





