पश्चिम नवलपरासीको गेर्मीबाट अबैध कपडा बरामद


नवलपरासी, माघ ८ । प्रहरीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको लत्ताकपडा बरामद गरिएको छ । आइतबार बिहान करिब साढे सात बजेको समयमा पाल्हीनन्दन गाउँपालिका – ५ गेर्माबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको कपडा बरामद गरेको हो ।
राष्ट्रिय अनुसन्धान कार्यालय परासीबाट प्रहरी सहायक निरीक्षक पशुपतिनाथ चौधरी र प्रहरी चौकी गेर्मीबाट प्रहरी सहायक निरीक्षक खिमानन्द पराजुलीको कमाण्डमा खटिएको संयुक्त टोलीलाई मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा करिब मूल्य रु २,७२,२०० बराबरको अबैध कपडा बरामद गरेको हो ।
दुई बोरा रहेको कपडामा थान कपडा ३३६ मिटर, साडी १७ पिस, लेडिज सुट ५९ पिस, लुङगी ४५ पिस, ठुलो मोजा १९५ पिस, सानो मोजा ६० पिस रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।
प्रहरीलाई देखेर उक्त मोटरसाइकलमा सवार व्यक्ति सामान त्यही छाडेर मोटरसाइकलमा फरार भएका छन् । प्रहरीले उक्त कपडा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय महेशपुर पठाउने तयारी गरेको सूचना अधिकारी पाण्डेले जानकारी दिए ।






