ललितपुरको भैसेपाटीमा आगलागीबाट एक जनाको मृत्यु

नवलपुर टुडे
२०७९ माघ ७ | मध्यान्ह ०४:१० बजे

ललितपुर, माघ ७ । ललितपुरको भैसेपाटीमा एक टहरामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
शनिबार बिहान साढे ३ बजे ललितपुर महानगरपालिका-२५ भैसेपाटी फुलबारी मार्गस्थित टहरामा आगलागी हुँदा सोही टहरामा बस्ने धनकुटा घर भएकी ३९ वर्षीया नम्रता राईको घट्नास्थलमै मृत्यु भएको हो ।
आगलागीबाट टहरा पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीको भनाई छ । बिजुली सर्ट भएर आगलागी भएको हो कि भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ललितपुर पुल्चोकबाट गएको दमकल र स्थानीय प्रहरीको सहयोगमा बिहान ४ बजे आगो नियन्त्रणमा लिइएको थियो ।
बिहान ९ बजे पोष्टमर्टमको लागि शव पाटन अस्पताल पुर्याएको प्रहरीको भनाइ छ । आगलागीबाट करिब साढे १ लाख बराबरको क्षति पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





