समाचार

    बैंकबाट कर्जा लिएर ब्याज तिर्नुको सट्टा आन्दोलन गर्नु अराजकता : गभर्नर अधिकारी

    नवलपुर टुडे
    २०७९ माघ ७ | मध्यान्ह ०४:१० बजे

      काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् ।

      शनिबार कृषि विकास बैंकको ५६औं वार्षिक साधारण सभामा गभर्नर अधिकारीले संगठित रुपमा बैंकबाट लिएको कर्जा तिर्नु पदैन भन्नु अराजकताको माथिल्लो रुप भएको बताए । बैंकबाट कर्जा लिएर कर्जा वा ब्याज नतिर्ने भन्दै संगठनको नाममा समूह बनाएर सडकमा उफ्रिएर दबाब दिन नमिल्ने उनले प्रष्ट पारे ।

      गभर्नर अधिकारीले पछिल्लो समय समग्र वित्तीय प्रणालीमा नै यस्ता नयाँ किसिमका चुनौतिहरु देखिएको उल्लेख गर्दै बैंकको कर्जा सार्वजनिक सम्पती भएको बताए । ‘बैंकहरुबाट ऋण लिने तर त्यो ऋण तिर्नुको सट्टा, सडकमा उफ्रिएर संगठित रुपमा बैंकबाट लिएको ऋण तिर्नु पदैन भन्ने खालका कुराहरु बजारमा आउन थालेका छन् । जुन कुरा एउटा अराजकताको पनि अत्यन्तै माथिल्लो रुप हो ।

      बैंकको ऋण भनेको सार्वजनिक सम्पती हो । सर्वसाधरणको निक्षेप हो,’ उनले भने । गभर्नर अधिकारीले व्यवसायी वा उद्यमीले लिएको कर्जा निश्चित समयभित्र तिर्ने स्वीकार गरेर लिएकाले कर्जा नतिर्नु वित्तीय अपराध हुने प्रष्ट पारे । यस्ता अराजक कुरालाई कसैले पनि प्रश्रय दिन नहुने भन्दै उनले राष्ट्र बैंक यो विषयमा सतर्क र सजग रहेको बताए ।

        कमेन्टहरु