कोइला बालेर आगो ताप्दा निसासिएर ४ जना बेहोस अवस्थामा फेला


काठमाडौं, माघ ७ । काठमाडौंको कोटेश्वरमा कोइला बालेर आगो ताप्दा निसासिएर ४ जना बेहोस अवस्थामा फेला परेका छन् । काठमाडौं महानगर – ३२ कोटेश्वरको सहयोगीनगरमा शुक्रबार राति ८ बजेतिर कोइला बालेर आगो ताप्ने क्रममा चार जना निसासिएर बेहोसी अवस्थामा फेला परेका हुन् ।
कुमार खत्रीको घरको पाँचौ तल्लाको कोठामा झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्दा श्वासप्रश्वासमा समस्या भई निसासिएर बेहोस भएको प्रहरीले जनाएको छ । ९० वर्षीया छलमाया खत्री, ७० वर्षीया सिलमाया कटुवाल, २४ वर्षीया प्रमिला खत्री र उनको ३५ दिनको छोरा श्रीयाल खड्का बेहोस अवस्थामा फेला परेका थिए ।
घटना भएको खबर प्राप्त हुनेबित्तिकै प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उद्धार गरि उनीहरूलाई बानेश्वरस्थित सिभिल अस्पताल पुर्याएको थियो । अहिले तीन जनाको सिभिल अस्पतालकै आईसीयू कक्षमा उपचार भइरहेको छ ।
सिभिलमा आईसियु खाली नभएपछि छलमायालाई छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।





