न्युजिल्याण्डमा ४४ वर्षे हिपकिन्स नयाँ प्रधानमन्त्री बन्ने


एजेन्सी
काठमाडौं, माघ ७ । क्रिस हिपकिन्स न्युजिल्याण्डका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । लेबर पार्टीबाट नेतृत्वका लागि एक मात्र उम्मेदवार बनेसँगै ४४ वर्षे हिपकिन्सले प्रधानमन्त्रीमा जेसिन्डा अर्डर्नको ठाउँ लिने पक्का भएको बीबीसीले जनाएको छ ।
सन् २००८ मा पहिलो पटक सांसद चुनिएका उनी नोभेम्बर २०२० मा कोभिड-१९ विशेष मन्त्री बनेका थिए। हिपकिन्स अहिले प्रहरी, शिक्षा तथा सार्वजनिक सेवा मन्त्री छन् । शुक्रबार अर्डर्नले आगामी महिनाबाट प्रधानमन्त्री पद छोड्ने घोषणा गरेकी थिइन् ।
उनले पदछोडेसँगै हिपकिन्स न्यूजिल्याण्डको नयाँ प्रधानमन्त्री बन्नेछन् । न्युजिल्याण्डमा आगामी अक्टुबरमा आम चुनाव हुँदैछ । प्रधानमन्त्री बन्नुअघि उनलाई प्रतिनिधिसभामा लेबर पार्टीको औपचारिक समर्थनको आवश्यकता पर्नेछ ।
यदि उनले उक्त समर्थन पाएमा अर्डर्नले ७ फेब्रुअरीमा गभर्नर जनरललाई राजीनामा बुझाउने छिन् । त्यसपछि हिपकिन्सलाई नियुक्त गरिनेछ ।





