प्रधानमन्त्री दाहालले मृत्यु पश्चात् अंगदान गर्ने घोषणा


काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्यु पश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीले भने , ‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु।’ प्रचण्डले भने, ‘डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महंगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो ।
केन्द्रमा मृगौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ।’ ‘केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता छ’ प्रधानमन्त्रीले भने, ‘अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ। मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई सम्बोधन गरिनेछ।’
नेपालमा अहिले वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ। त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाहरूले वर्षमा १०० बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन्। केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न नसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले केन्द्रलाई देशभर तत्काल विस्तार गर्ने बताए ।
उनले ७ वटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए । त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान मागप्रति गम्भीर रहेको उल्लेख गरे ।





