समाचार

    निराकारको शव आज थाइल्यान्ड हुँदै, नेपाल ल्याईदै

    नवलपुर टुडे
    २०७९ माघ ६ | बिहान ०८:१० बजे

      काठमाडौँ, माघ ६ । कम्बोडियास्थित पोइपेट सहरमा रहेको ग्राण्ड डायमण्ड सिटी होटल (क्यासिनो) मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज राति नेपाल आइपुग्ने भएको छ। होटलमा आगलागी हुँदा १२औं तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो।

      कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो। तर शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ।

      निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदैछ । शव शुक्रबार राति साढे दस बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा ल्याउने तयारी गरिएको नेकपा (एमाले) का बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। नगर अध्यक्ष भट्टराईका अनुसार पाण्डेको शव शनिबार झापा आइपुग्ने भएको छ।

      निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिएका थिए। शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णयसमेत भएको छ। सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो।

        कमेन्टहरु