गोगंबुको दुई होटलबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ

नवलपुर टुडे
२०७९ माघ ५ | मध्यान्ह ०१:१० बजे

काठमाडौं, माघ ५ । काठमाडौंको गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ परेका छन् ।
प्रहरीले कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ पक्राउ गरेको हो । उक्त होटलहरूमा शङ्कास्पद व्यक्तिहरु रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानीसहित उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





