हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृृहमन्त्रीसहित १८ जनाको मृत्यु


एजेन्सी
काठमाडौं, माघ ४ । युक्रेनका गृहमन्त्रीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ । बिबिसीका अनुसार राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ३ जना बालबालिका पनि मारिएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १८ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् । गृह मन्त्रालयका कैयौं उच्च अधिकारी, गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीको ज्यान गएको छ । हेलिकप्टरमा मन्त्रीसँगै अन्य ८ उच्च पदस्थ कर्मचारी थिए ।
४२ वर्षीय मोनास्ट्रास्के दुई वर्षअघि गृहमन्त्री नियुक्त भएका थिए। उनी राष्ट्रपति जेलेनेस्की मन्त्रिपरिषदका प्रमुख सदस्य थिए । दुर्घटनामा घाइते भएका दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।
राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोका अनुसार उक्त हेलिकप्टर युक्रेनको राज्य आपतकालीन सेवाको लागि प्रयोग हुँदै आएको थियो । युक्रेनको राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोका अनुसार मोनास्ट्रास्के युद्ध भइरहेको ‘हटस्पट’ मा जाँदै थिए ।





