स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित २ जना पक्राउ

नवलपुर टुडे
२०७९ माघ ४ | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ ४ । प्रहरीले वीरगन्जबाट स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हुन्डी कारोबारीको आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ नगवाका ३४ वर्षीय विकाश शाह र सोही महानगरपालिका-१८ इनर्वा मनियारी बस्ने १९ वर्षीय सुवासकुमार साह रहेका छन् । मंगलबार वीरगन्ज महानगरपालिका-८ घण्टाघरस्थित सडकमा उनीहरू सवार बीआर ०५ एई ९३४३ नम्बरको स्कुटरमा प्रहरीले चेक गरेको थियो ।
चेक गर्ने क्रममा पछाडि सवार सुवासकुमार साहले बोकेको झोलाबाट साढे २२ लाख नेपाली रुपैयाँ फेला पारेको हो । स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।





