माओवादी नेता पुनको कलेजो प्रत्यारोपण गरिने

नवलपुर टुडे
२०७९ माघ ४ | मध्यान्ह ०२:१० बजे

काठमाडौं, माघ ४ । लामो समयदेखि जटिल प्रकृतिको वंशाणुगत जन्डिसबाट ग्रसित नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ ।
गत शनिबार सुमेरु सिटी अस्पतालमा भर्ना भएका पुनको केही साताभित्रै कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको पाटन अस्पतालका स्वास्थ्य निर्देशक तथा वरिष्ठ पेट रोग विशेषज्ञ प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।
लामो समयदेखि वंशाणुगत जन्डिस (सिग्गलर नाजार टाइप टू सिन्ड्रोम ) देखिएका पुनकोे कलेजो ८० प्रतिशतभन्दा बिग्रिसकेको र अबको उपचार प्रत्यारोपण नै भएको डा. शर्माले जानकारी दिए ।
डा. शर्माकाअनुसार पछिल्लो दुई महिनायता पुनको पेटमा पानी जम्ने समस्या देखिँदै आएको थियो भने ८० प्रतिशत कलेजोले काम गर्न नसक्ने अवस्थामा पुगेको छ ।





