मधेश प्रदेश

    महोत्तरीमा नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जना पक्राउ

    नवलपुर टुडे
    २०७९ माघ ४ | बिहान ०७:१० बजे

      महोत्तरी । नक्कली प्रहरी बनेर लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास नगरपालिका वडा नं ०४ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डदेखि चेरु माईस्थान जङ्गलमा सर्लाही हरिवन बस्ने राहुल महतोलाई लुटपाट गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन ।

      पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिबास बस्ने २२ वर्षीय नीरज साह सोनार, वर्ष २२ को नै गुड्डु भन्ने पप्पु साह, २३ वर्षीय सन्दीप लामा,  २० वर्षीय सनम मगर, वडा नं १२ चल्कीटोल बस्ने २२ वर्षका  शैलेन्द्र राउत र धनुषा जनकपुर उप९महानगरपालिका ७ जिरोमाईल बस्ने  १९ वर्षीय दीपक राउत छन् ।

      पीडितको अनुसार २८ माघमा चेरुस्थित एकान्त जङ्गलमा पुर्‍याएर सिआइडीको बहानामा नगद, मोबाइल र क्यामरा लुटपाट भएको छ । ‘मलाइ उनीहरूले हात-हातमा लट्ठी लिएर चारैतिरवाट घेरा हाले’, पीडित महतोले भने, ‘उनीहरूले त्यसपछि मोबाइल, नगद र क्यामरा लिए ।’

      आफूसँग भएको डिएसएलआर क्यामरा चोरी गरेको स्विकार्नु पर्ने नत्र बर्सिबास बजार क्षेत्रबाट चोरी भएका मोटरसाइकलको मुद्दासमेत लगाउने त्राससमेत देखाएको पीडित महतोले बताएका छन् । चोरी भएका मोटरसाइकल विषयमा माथि खबर नगरी छाडने र त्यस्को बदलामा २२ हजार ५ सय थप दिनुपर्ने उनीहरुले बताएपछि पैसा लिन घर पठाएको र फर्केर आउँदा उनीहरू फरार भएको पीडित महतोले प्रहरीलाई बयान दिएका छन् ।

      उनीहरूले महतोको साथबाट मोबाइल ३ थान, क्यामरा लेन्ससहित र ७५ हजार नगद लिएर फरार भएको प्रहरीलाई उजुरी दिएको प्रहरीले जनाएको छ । उजुरीको आधारमा नै आरोपित उक्त ६ जनालाई बर्दिबास नगर क्षेत्रको विभिन्न ठाउँबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।

      आरोपित ६ जनालाई नै जिल्ला अदालत महोत्तरीवाट १० दिनको म्याद थप गरी हिरासतमा नै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      बर्सिबास नगर क्षेत्रमा चोरी, मोटरसाइकल चोरी जस्ता क्रियाकलापमा समेत सोही गिरोह हुन सक्ने प्रहरीको अनुमान छ ।

        कमेन्टहरु