लुम्बिनी प्रदेश

    लुम्बिनीको सभामुखमा तुलाराम घर्ती र उपसभामुख खाँण निर्विरोध निर्वाचित

    नवलपुर टुडे
    २०७९ माघ ३ | मध्यान्ह ०३:१० बजे

      बुटवल, माघ ३ । लुम्बिनी प्रदेशको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित भएका छन् । 

      कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले उपसभामुखमा दर्ता गरेको उम्मेदवारी फिर्ता लिएपछि मंगलबार सभामुख र उपसभामुख दुवैमा सत्ता गठबन्धनकै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

      मंगलबार बसेको प्रदेशसभा बैठकबाट पाल्पा २ ‘ख’ बाट निर्वाचित घर्ती सभामुख र उपसभामुखमा राप्रपाकी समानुपातिकतर्फबाट सांसद बनेकी खाँण निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले घर्ती सभामुखमा र खाँण उपसभामुखमा निर्विरोध निर्वाचित घोषणा गरेका हुन् ।

      सभामुख घर्तीको प्रस्तावकमा एमालेका भूमिश्वर ढकाल र समर्थकमा आशिषकुमार चौधरी बसेका थिए । यसैगरी, उपसभामुख खाँणको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित थारू र समर्थकमा जनमत पार्टीका सीके गुप्ता बसेका थिए ।

      लुम्बिनी प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा सदस्य छन । सत्तारुढ गठबन्धनमा ५८ सांसद छन् । प्रदेशसभामा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत, लोसपाका ३-३ र दुई स्वतन्त्र सांसद सत्ता गठबन्धनमा छन् ।

        कमेन्टहरु