सुनसरीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु


धरान । सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्युभएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश १–०२–००३ह २६५५ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको थियो ।
सिटी र चालक धरान–११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका छन् ।
त्यसैगरी बराहक्षेत्र–७ बत्तीस आरडीस्थित सुनसरी–मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा (हिमाल) को निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए ।
नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो ।
घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





