लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका घर्ती निर्विरोध, उपसभामुखमा तीनजना भिड्दै


बुटवल, माघ २ । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गर्ने समयसम्ममा सभामुखमा घर्तिको मात्रै मनोनयन दर्ता भएको हो । उनको प्रस्तावकमा एमालेका भूमिश्वर ढकाल र समर्थकमा राप्रपाका आशिष चौधरी छन् ।
यस्तै उपसभामुखमा भने तीनजनाको मनोनयन दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की मेनुका खाँण, नेपाली कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूको उपसभामुखमा मनोनयन दर्ता भएको छ ।
उपसभामुखमा खाँणको प्रस्तावकमा माओवादीका इन्द्रजित थारू र समर्थकमा जनमत पार्टीका चन्द्रकेश गुप्ता रहेका छन् । यसैगरी कांग्रेसका पाठकको प्रस्तावकमा वसिरुद्दिन खाँ छन् भने समर्थकमा राजु खनाल रहेका छन् ।
नागरिक उन्मुक्ति पार्टीकी निर्मला देवी थारूको प्रस्तावकमा नरमाया ढकाल र समर्थकमा धर्मबहादुर चौधरी रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानाकारी दिए । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुख भोलिको प्रदेश सभा बैठकले चयन गर्ने उनले बताए ।
लुम्बिनी प्रदेश सभामा कुल ८७ सदस्य छन् । प्रदेश सभामा सत्ता गठबन्धनमा सात दलसहित दुई स्वतन्त्र गरी ५८ जना सदस्य छन् । यस्तै कांग्रेसका २७ तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक प्रदेश सभा सदस्य छन् ।





