बागमती प्रदेशको उपसभामुखमा एमालेबाट चापागाईं निर्वाचित


हेटौंडा, माघ २ । बागमती प्रदेश सभाको उपसभामुखमा सत्तागठबन्धन तर्फबाट एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन् ।
प्रदेश सभाको आज बसेको बैठकमा उपसभामुखका लागि भएको निर्वाचनमा एमालेका चापागाईंको पक्षमा ६१ मत प्राप्त भएको छ । आजै बसेको बागमती प्रदेश सभा बैठकमा चापागाईंलाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ६१ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको हो ।
कुल ११० सदस्यीय प्रदेश सभामा सोमबार १०८ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए। चापागाईंलाई सत्तागठबन्धन दल एमाले, माओवादी, राप्रपा र हाम्रो नेपाली पार्टीका संसादहरूको समर्थन थियो। प्रदेशमा एमालेका २७, माओवादीका २१, राप्रपाका १३ र हाम्रो नेपाली पार्टीका २ जना सांसदहरू छन्।
उपसभामुखमा चयन हुन ५५ मत आवश्यक रहेकोमा चापागाईंको पक्षमा ६१ मत परेको थियो। उनको विपक्षमा ३९ मत खसेको थियो भने एकीकृत समाजवादीका ७ जना सांसदहरू तटस्थ बसेका थिए । यस्तै, यसअघि उपसभामुखमा नेमकिपाकी गीता काफ्लेलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा जम्मा ३ मत, विपक्षमा ६१ र ४३ सांसद तटस्थ बसेका थिए।
काफ्लेको पक्षमा बहुमत नपुगेपछि उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको सभामुख पाठकले सभामा घोषणा गरेका थिए।





