पश्चिम नवलपरासीको भुमहीमा बस र कार एक अपासमा ठोक्किदा एकको मृत्यु, ५ जना घाईते


नवलपरासी, माघ २ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – १२ भुमही नजिकै बस र कार आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । भुमही – परासी भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु २ ख १२२६ नं. को बस र विपरित दिशाबाट जादै गरेको बा ०१-०२५ च ३८९७ नं. को कार एक आपसमा ठोक्किएको हो ।
दुर्घटनामा कार चालक अर्घाखाँची स्थाई घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका – ८ मधुवन बस्दै आएका अन्दाजी ३६ वर्षीय ईन्द्रमणी पौडेलको मृत्यु भएको हो । गम्भीर घाइते भएका पौडेलको जिल्ला अस्पताल परासीमा १३:५५ बजे मृत्यु भएको हो । उनको शव सोही अस्पतालमा राखिएको छ ।
यस्तै घाइते हुनेहरूमा कारमा सवार कपिलवस्तुको वाणगंगा नगरपालिका – ८ मधुवन निवासी अन्दाजी ३१ वर्षीय पुर्ण बहादुर राना र २८ वर्षीय मनोज कुमार परियार, नवलपरासी (पुर्व) बुलिङटार गाउँपालिकाका अन्दाजी २८ वर्षीय गंगा गोदामी, कावासोती नगरपालिका देउराली बस्ने अन्दाजी १८ का दल बहादुर बराल र अर्घाखाँचीको सितगंगा नगरपालिका – ६ स्थायी घर भई हाल रुपन्देहीको सालझण्डी बस्ने अन्दाजी ३८ वर्षको खेम बहादुर रेश्मी मगर रहेका छन् ।
दल बहादुर बरालको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।
दुर्घटना भएको खबर प्राप्त हुना साथ उद्धारका लागि अस्थायी प्रहरी बिट भुमहीबाट प्रहरी सहायक निरीक्षक ईन्द्रजित अहिर यादवको टोली, ईलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलको टोली र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयको कमाण्डमा ट्राफिकसहित २३ जनाको टोली खटिएको थियो ।
प्रहरीले कारमा सवार घाईतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पतालमा पठाईएको थियो । बसमा सवार सबै सकुसल रहेको छ । दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ । अहिले दुबै सवारी साधन नियन्त्रणमा लिई चालकको खोजीकार्य भईरहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले नवलपुर टुडेलाई जानकारी दिए ।





