बागमती प्रदेश

    बागमती प्रदेशको उपसभामुखको निर्वाचन हुँदै, ३ जना प्रतिस्पर्धामा

    नवलपुर टुडे
    २०७९ माघ २ | बिहान १०:१० बजे

      हेटौडा । बागमती प्रदेशको उपसभामुख पदका लागि आज निर्वाचन हुँदैछ । उपसामुख पदका लागि दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

      बागमती प्रदेशको उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । गत पुस २९ गते बसेको प्रदेशसभाको बैठकले उपसभामुख पदका लागि माघ २ गते सोमबारको मिति तय गरेको थियो । प्रदेशसभा बैठकले मिति तय गरेलगत्तै सोही दिन उपसभामुख पदका लागि मनोनयन दर्ता गरेको थियो ।

      प्रदेशसभा सचिवालय हेटौंडाले उपसभामुख पदका लागि शुक्रबार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो । उपसभामुख पदका लागि ३ वटा दलबाट ३ जनको उम्मेदवारी दर्ता भएको हो । उक्त अवधीमा प्रदेशसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकीपाका सांसदले उम्मेदवारी दिएका हुन् । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईंले उपसभामुख पदका लागी उम्मेदवारी दिएकी छिन् भने नेपाली कांग्रेसले सुना परियारको उम्मेदवारी दिएकी छिन् । नेमकीपाबाट गीता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

      उनीहरुले नेपालको संविधानको धार १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ९ को उपनियम (२) बमोजिम उम्मेदवारी दिर्ता गराएका हुन् । केन्द्रीय स्तरमा गत पुस २५ गते भएको सत्तारुढ गठबन्धनको भागबण्डाको क्रममा बागमती प्रदेशको उपसभामुख पद एमालेको भागमा परेको थियो । सोही अनुसार उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी चापागाईंले उम्मेदवारी दर्ता गरेकी हुन् ।

      पद तथा गोपनियताको सपथ लिएसँगै नवनियुक्त प्रदेशसभाका सभामुख भुवन पाठकले उपसभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई जिम्मेवारी दिएका थिए । उपसभामुख पदमा उम्मेदवार बनेकी एमालेकी चापागाईलाई माओवादी केन्द्रकी कुमारी मोक्तानको प्रस्तावमा राप्रपाकी आशा लामाले समर्थन गरेकी छिन् । चापागाईंलाई माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।

      त्यस्तै नेमकीपाकी काफ्लेको प्रस्तावकमा दलका नेमकीपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साई रहेका छन् भने समर्थकमा सांसद सुजना सायजु रहेकी छिन् । त्यसैगरी कांग्रेसबाट प्रदेशसभाको उपसभामुख पदमा उम्मेदवारी दिएकी परियारको प्रस्तावकमा सांसद उत्तम जोशी रहेका छन् भने समर्थकमा याङ्किला शेर्पा रहेकी छिन् ।

      बागमती प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत छ । प्रदेशसभामा सत्ता गठबन्धन दल एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको २ गरी ६३ जना सांसद रहेका छन् । बागमती प्रदेशसभाको सभामुखको लागि शुक्रबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट सरकारलाई समर्थन दिएको नेकपा एकीकृत समाजवादीले तथस्ट भुमिका निर्वाह गर्यो । सोही अनुसार एकीकृत समाजवादी आज हुने उपसभामुख पदको निर्वाचनमा पनि तथस्ट रहने निश्चित रहेको छ ।

      प्रदेशसभामा सो दलका ७ जना सांसद रहेका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद रहेका छन् भने नेमकीपाका ३ जना सांसद रहेका छन् । 

        कमेन्टहरु