कर्णाली प्रदेश

    रुकुम पश्चिममा नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित मल्ल पक्राउ

    नवलपुर टुडे
    २०७९ पुस ३० | बिहान ०९:०९ बजे

      रुकुम । नेपाली नागरिकता बनाउन खोज्ने एक भारतीय नागरिकसहित एक रुकुमेली पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेशको सिम्ला घर भएका अन्दाजी ३० वर्षीय गणेश नेपाली भनेर चिनिने व्यक्ति र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० का २६ वर्षीय मोतिराम मल्ल रहेको प्रहरीले जनाएको छ ।

      उनीहरूले स्थानीय रत्ने दमाईलाई रक्सी खुवाएर झुक्याएर नागरिकता बनाउन खोजेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।

      दमाईलाई पूर्णबहादुर नेपालीको छोरा हो भन्न लगाई बाँफिकोट गाउँपालिका वडा नम्बर १० को कार्यालयमा जन्मदर्ता गरी नागरिकताको प्रमाणपत्रका लागि सिफारिस बनाउन लगाएको पाएपछि उनीहरूलाई पक्राउ गरेको श्रेष्ठले बताए । उनीहरू पुस २५ गते वडामा जन्मदर्ता गरी नागरिकता सिफारिसका लागि उनीहरू पुस २६ जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

      प्रहरी निरीक्षक श्रेष्ठका अनुसार शंकास्पद लागेपछि सोधपुछ गर्दा गणेश नेपाली भनिने व्यक्ति भारतीय नागरिक रहेको र उनलाई नेपाली नागरिकताका लागि मोतिराम मल्लले सहयोग गरेको खुलेको थियो।

      त्यस्तै बाबु भनेर उल्लेख गरिएका पूर्णबहादुर नेपालीको मृत्यु भइसकेको पाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । उनीहरु विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नागरिकताका सम्बन्धमा कडाइ गरिरहेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए । जनप्रतिनिधिलाई समेत राम्ररी बुझेर सिफारिस गर्न आग्रह गरेकोे उनले बताए।

       

        कमेन्टहरु