देश

    सिंहदरबारमा सत्तारुढ दलको बैठक बस्दै

    नवलपुर टुडे
    २०७९ पुस २९ | बिहान १०:०९ बजे
    फाईल तस्बिर

      काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक केही बेरमा बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजे बस्ने तय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

      बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । सत्ता साझेदार दलहरुबीच कसलाई कति वटा मन्त्रालय भन्ने टुङ्ग्याउन बाँकी छ । यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार बालकोट र बालुवाटारमा भएको छलफलमा मोटामोटी सहमति भएको बुझिएको छ ।

      यसअघि एमालेले उपप्रधानसहित चार मन्त्रीको शपथ गराएको छ भने माओवादीबाट प्रधानमन्त्री र एक उपप्रधानमन्त्री, रास्वपाले उपप्रधानमन्त्री र जनमतले एक मन्त्रीको शपथ गराइसकेको छ ।

      उपप्रधानमन्त्रीहरूको मन्त्रालय तोकिए पनि शपथ लिएका मन्त्रीहरूको जिम्मेवारी तोकिएको छैन । बाँकी १७ वटा मन्त्रालय भागबन्डा गर्नुपर्ने छ । अहिलेसम्म एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जाने सहमती छ । गत पुस ११ गते प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि मन्त्रिमण्डललाई पूर्णता दिने सत्ता साझेदार दलहरुबीच सहमति भएको थियो ।

      सोही सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरिसकेका छन् ।

        कमेन्टहरु