नवलपुरको गैंडाकोटमा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु


नवलपुर । स्कुल बसको ठक्करबाट नवलपुरको गैँडाकोटमा एक बालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो करिब १:३० बजेको समयमा नवलपुरको गैँडाकोट नगरपालिका – १२ सुन्दरी चोकको मठकुरी सालघारीस्थित भित्री सडक खण्डमा बालिकालाई बसले ठक्कर दिएको हो ।
बिधार्थी छोड्न सालघारीबाट हाइबे तर्फ आउँदै गरेको सूर्योदय बोर्डिङ स्कुलको ग १ क २७५७ नम्बरको बसले ठक्कर फिँदा स्थानीय राजु चुनी मगरको छोरी ३ वर्षीया साइरा चुनी मगरको घटनास्थलमै मृत्यु भएको गैंडाकोट प्रहरीले जानकारी दिएको छ ।
घर अगाडी बाटोमा खेलिरहेको साइराको घटनास्थलमानै मृत्यु भएको भन्ने खबर अस्थायी प्रहरी पोष्ट बेल्डिहामा प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक टिकाराम पोख्रेलको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालय गैडाकोटबाट प्रहरी निरीक्षक प्रसान्त श्रेष्ठको कमाण्डमा १५ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
बस र चालकलाई अस्थायी प्रहरी पोष्ट बेल्डिहाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





