समाचार

    छाडा चौपाया व्यवस्थापन गरिने :- नगर प्रमुख शाह

    नवलपुर टुडे
    २०७९ पुस २५ | मध्यान्ह ०४:०९ बजे

      कृष्णनगर, पुस २५ । कृष्णनगर नगरपालिकाले छाडा चाैपाया व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखि थप याेजनाका साथ नवाैं नगरसभा सम्पन्न गरेकाे छ ।

      नगर प्रमुख रजत प्रताप शाहकाे संयाेजकत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पतिको संरक्षण, छाडा चौपायाको दिगो व्यवस्थापन, स्थानीय बजार अनुगमन लगायतका बिकासमुखी याेजना नवाैं नगरसभाले प्रतिबद्धता लिएकाे छ । नगरसभाले शिक्षाको गुणस्तर कायम, स्वास्थ्य क्षेत्रमा आपेक्षित सुधार, बस पार्क व्यवस्थापन लगायत सार्वजनिक क्षेत्रको अतिक्रमण हटाउन, नगरबासीको शान्ति सुरक्षा स्थापना, सबै प्रकारका कर, दस्तुर र शुल्क उठाउन नगर प्रहरीको दरबन्दी स्वीकृत गरी चालू आर्थिक बर्षबाटै परिचालन गरिने थप याेजनाबारे नगर प्रमुख रजत प्रताप शाहले सभालाई जानकारी गराउनु भएकाे थियाे ।

      नगर प्रमुख शाहले आयव्यय प्रस्तुत गर्दा गत आर्थिक बर्ष २०७८/७९ मा कुल आम्दानी रु ६८ करोड ५७ लाख ४४ हजार ३३ रुपैया मात्र भएको थियो भने कुल रु ५२ करोड ८४ लाख २६ हजार ८ सय ८० रुपैयाँ खर्च भइ बचे रकम रु १५ करोड ७३ लाख १७ हजार १ सय ५३ मध्ये रु २ करोड ५० लाख चालु आर्थिक वर्षको आय अनुमानमा समावेश गरिसकेको बताउनुभयो । चालु आर्थिक बर्षमा समाबेश नभएको रु १३ करोड २३ लाख ७६ हजार १ सय ५३ बाट खर्च गर्ने बताउनुभयाे ।

      त्यस्तै चालू आर्थिक बर्षमा आन्तरिक आय तर्फ रु २ करोड आम्दानी प्रक्षेपण गरिएकोमा मंसिर मसान्तसम्म सबै वडाबाट कूल रु १२ लाख ७८ हजार ७७१, भन्सार व्यारियरबाट रु २० लाख ७ हजार ५० नगरपालिका संकलन केन्द्रबाट २४ लाख ११ हजार ४११ र नदीजन्य पदार्थको विक्री बापत प्राप्त भएको रु २३ लाख ५५ हजार ५०५ को ६० प्रतिशतले हुन आउने रु १४ लाख १३ हजार ३ सय ०३ गरी कूल रु ७१ लाख ०९ हजार ३ सय ०३ मात्र आन्तरिक आय संकलन भएको छ ।

      चालू आ.ब. मा नगरपालिकाको कूल ७६ करोड ३२ लाख ४५ हजार बजेट मध्ये चालू तर्फको ४४ करोड २७ लाख २४ हजार मा २३ .१३ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फको ३२ करोड ५ लाख २० हजारमा १७ प्रतिशत यथार्थ खर्च भएको जसमा हालसम्म कूल अनुमानित आयको ४३ प्रतिशत यर्थाथ आय भएको जानकारी दिनुभयाे ।

      नगरसभाका सचिव इश्वरी प्रसाद शर्माले नगरपालिका विभिन्न समितिहरुकाे प्रगति विवरण प्रस्तुत गराउँदै अगामी दिनमा नगर कार्यपालिकाले ल्याएका याेजनाहरु पारदर्शी ढंगले अगाडि बढ्ने बताउनुभयाे । सभामा पदाधिकारी, शाखा प्रमुख, कर्मचारी, संचारकर्मी लगायतकाे उपस्थितिमा सर्वसम्मतले सम्पन्न भएकाे संचालक इश्वरी पाैडेलले जानकारी दिनुभएकाे छ ।

        कमेन्टहरु