शृङ्खलाबद्ध रूपमा तीन नेपाली महिलाको हत्या गरेका भारतीय दम्पत्ती पक्राउ

रुपन्देही । तीन नेपाली महिलाको हत्या गरेको आरोपमा प्रहरीले भारतीय दम्पतीलाई पक्राउ गरेको छ । गहना लुट्न अर्घाखाँची, गुल्मी र कपिलवस्तुका तीन महिलाको हत्या गर्ने भारतीय दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो ।
चार महिनाको अवधिमा शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने काम गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमती शिवा परियारलाई अर्घाखाँची प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
उनीहरूले यही पुस १७ गते अर्घाखाँचीको शितगंगा नगरपालिका – १० बहखोरकी ६० वर्षीया राधा थापाको हत्या गरी गरगहना लुटेको प्रमाण भेटिएपछि उनीहरूको खोजी भएको थियो । यसअघि उनीहरूले कात्तिकमा गुल्मीको इस्मा गाउँपालिका – ५ की ७५ वर्षीया जीवकला थापा र असोजमा कपिलवस्तुको विजयनगर गाउँपालिका – ४ की ७० वर्षीया योगमाया गैरेको हत्या गरेको प्रमाण भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए ।
पछिल्लो हत्यापछि अभियुक्त सिंह शितगंगा ११ को मुन्द्रीबास जंगलबाट प्रहरीको फन्दामा परेका हुन् । उनले श्रीमतीसँग मिलेर हत्या गरेको बताएपछि उनकी श्रीमती शितगंगा नगरपालिका – १० सिद्धाराकी २२ वर्षीया शिवा परियारलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई कर्तव्य ज्यान मुद्दा चलिरहेको प्रहरी प्रमुख रिजालले बताए ।





