पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

नवलपुर टुडे
२०७९ पुस २५ | बिहान ०९:०९ बजे

पाल्पा, पुस २५ । पाल्पामा ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रम्भा गाउँपालिका वडा नं. १ हुँगीका १७ वर्षीय विशाल थापाको मृत्यु भएको हो । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तर्गत पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको हो ।
स्थानीयसाथै जिल्ला प्रहरी कार्यालय पाल्पा र राम्दी प्रहरी चौकीको सहयोगमा घाइतेको उद्दार गरिएको थियो ।





