समाचार

    जाजरकोटमा वन विनाशलाई रोक्न सिलिण्डर र चुलो वितरण

    टोप कामु मगर
    २०७९ पुस २४ | मध्यान्ह ०३:०९ बजे

      जाजरकोट, पुस २४ । जाजरकोटको शिवालय गाउँपालिका–१ को चुली सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउन स्थानीयलाई एलपी ग्यास वितरण गरेको छ । दाउराको खपतले वन विनाश बढेको भन्दै समूहले उपभोक्तालाई एलपी ग्यासको सिलिण्डर र चुलो लगायतका सामग्री वितरण गरेको हो । 

      समूहमा आबद्ध ११५ घरधुरीलाई एकएक सेट एलपी ग्यासका सिलिण्डर, चुलो, लाइटर, रेगुलेटर र पाइप लगायतका सामग्री वितरण गरिएको समूहका अध्यक्ष धनिराम रानाले जानकारी दिए । समूहमा सल्लाको खोटो संकलन र अन्य लगायतका शीर्षकबाट २१ लाखभन्दा बढी रकम संकलन भएको र सोही रकममध्येबाट ८ लाख २६ हजार रुपैयाँमा उक्त सिलिण्डर, ग्यास चुलो लगायतका सामग्री खरिद गरिएको अध्यक्ष रानाले जनाए ।

      उनले वन जोगाउने सकिन्छ कि भन्ने उद्देश्यकासाथ उपभोक्तालाई ग्यास वितरण गरेको पनि बताए । समूहले वार्षिक कार्यक्रममा नै उपभोक्तालाई ग्यास सिलिण्डर वितरण गर्ने कार्यक्रम तय गरेको थियो ।
      ग्यास चुलो वितरण गरेसँगै वन विनास जोगिने र उपभोक्ताको स्वास्थ्यमा समेत फाइदा पुग्ने समूहको अपेक्षा छ । दाउरा प्रयोगबाट निस्कने धुँवाले श्वासप्रश्वास लगायतका समस्या निम्त्याउने जोखिम हुन्छ । 

      ग्यास प्रयोग गर्दा धुँवा नआउने र दम रोगबाट पीडित व्यक्तिलाई राहत हुने उपभोक्ता समूहका अध्यक्ष रानाले बताए । उनका अनुसार चुलीका स्थानीयले प्रतिघर वार्षिक २० देखि २५ भारीसम्म दाउरा खपत गर्दै आएका छन् । जसले गर्दा ठूलो संख्यामा वन विनास बढेको छ । ग्यास वितरणसँगै वन विनास रोकिने समूहको अपेक्षा छ ।

        कमेन्टहरु