सिरहामा स्पिरिट खाएर १ जना छात्राको मृत्यु, शिक्षिकाले नै खुवाएको आरोप


सिरहा, पुष २४ । सिराहामा पानी सोचेर स्पिरिट खाँदा १ जना छात्राको मृत्यु भएको छ । मिर्चैया नगरपालिका- ६ स्थित सगरमाथा माविका १६ वर्षीया सिर्जनाकुमारी महराले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि उनको मृत्यु भएको हो ।
सिराहा नगरपालिका-११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन् । सिर्जनाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
घटना गत २२ गते शुक्रबार भएको हो । विद्यालयमा गएकी सिर्जनाको पेट दुखेपछि औषधि खान शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका लम्सालले माउन्टेन ड्यूको बोतलमा रहेको स्पिरिट पानी ठानेर दिइन् । छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्पिरिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन् । तत्कालै उनलाई फुलकुमारी अस्पतालमा पुर्याइएको थियो ।
‘सिसा सफा गर्ने खालको स्पिरिट रहेछ । पानी सोचेर त्यो खाएको देखिन्छ,’ डिएसपी बुढाथोकीले भने । विद्यार्थीलाई पानी सोचेर शिक्षिकाले नै स्पिरिट दिएको भन्दै मृतकका परिवार, विद्यार्थी र स्थानीय आन्दोलित छन् । प्रहरीले ती शिक्षिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।’
यता आन्दोलित आफन्त लगायतले लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राकी परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् । आन्दोलनकै क्रममा विद्यार्थीहरूले सडकमा टायर बालेका छन् ।





