देश

    बुटवलको बेलबासमा स्थानीयको कुटपिटबाट बाबुको मृत्यु, दुई छोरा घाइते

    नवलपुर टुडे
    २०७९ पुस २३ | बिहान ०८:०९ बजे

      बुटवल, पुस २३ । बुटवलको बेलबासमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । स्थानीय केही युवाहरुको समूहले आक्रमण गर्दा बुटवल उपमहानगरपालिका–१३ जितगढीका ५४ वर्षीय यमप्रसाद नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      नेपालका दुई छोराहरु दिवस र दिपेश घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय प्रदीप पाण्डेको अगुवाइमा शुक्रबार साँझ यमप्रसाद नेपालको घरमा ५/७ जनाको समूह आएर आक्रमण गरेका थिए । आक्रमणबाट गम्भीर घाईते भएका नेपालको बेलबासस्थित एडमण्ड सिटी अस्पतालमा शुक्रबार साँझ मृत्यु भएको हो ।

      घरायसी विवादपछि बिहीबार दिपेशले प्रहरीमा मौखिक उजुरीसमेत दिएको र पछि घरमै मिल्ने भनेपछि निवेदन फिर्ता गरेका प्रहरीले जनाएको छ । शुक्रबार छलफल गर्ने भन्दै नेपालको घरमा पुगेका ५/७ जनाको समूह एक्कासी कुटपिटमा उत्रिएपछि घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

      आक्रमणबाट अचेत भएका यमप्रसादलाई तत्काल अस्पताल पुर्‍याइएको थियो । लगत्तै उनलाई अस्पतालले मृत घोषणा गरेको हो । कुटपिटमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य फरार रहेकाहरूको खोजीकार्य भइरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

        कमेन्टहरु