समाचार

    कञ्चनपुरमा चिसोबाट बच्न मुढा वितरण

    नवलपुर टुडे
    २०७९ पुस २० | मध्यान्ह ०२:०९ बजे
    फाइल तस्वीर

      कञ्चनपुर । कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन्  ।

      चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र जेष्ठ नागरिकलाई असर परेको छ। चिसोबाट जोगाउन बजार क्षेत्रका चोक चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष शेरबहादुर साउदले बताए। 

      निकुञ्ज कार्यालयसंग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएको उनको भनाइ थियो । ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलब्ध गराई आगो ताप्ने व्यवस्था गराएका छन्  । 

      कृष्णपुरका व्यवसायी हरेन्द्र बोहराले चिसोबाट कोही पनि समस्यामा नपरुन भनेर निःशुल्क ग्रामीण क्षेत्र र बजार क्षेत्रमा दाउरा वितरण गरेका छन् । “जनताको जीउधनको शुरक्षा गर्ने कार्य जनप्रतिनिधिको दायित्व भित्र पर्दछ” शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले भने, चिसोबाट सर्वसाधारणलाई जोगाउनका लागि दाउरा र मुढा बाल्ने व्यवस्था गराएका हौँ ।”

      बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकबहादुर बिष्टले आवश्यकता भएका ठाउँमा मागअनुसार आगो ताप्न मुढा वितरण गरिएको बताए । यहाँ बिहानीको समयमा बाक्लो हुस्सु लाग्ने र दिउँसो सितलहर चल्ने गरेको छ । चिसो बढेकै कारण जिल्लाका केही स्थानीय तहले एक साताका लागि विद्यालय बन्दसमेत गरेका छन् । 

        कमेन्टहरु