अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु


अर्घाखाँची, पुस २० । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बुधबार बिहान जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ ओखरी बस्ने ८० वर्षीय रामबहादुर क्षेत्रीलाई भालुले आक्रमण गरेको थियो ।
घरदेखि झिरा जान भनेर हिँडेका क्षेत्रीलाई स्थानीय रानी सामुदायिक वनमा पुग्दा भालुले आक्रमण गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । भालुले टोकेर क्षेत्रीलाई घाइते बनाएको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय ठाडाको टोलीले उनलाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र ठाडा पुर्याएकोमा बिहान साढे ९ बजेतिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।
प्रहरीले उक्त सामुदायिक वनमा विगतका दिनमा पनि हिंस्रक जंगली जनावरले आक्रमण गर्दै आएकोले सामुदायिक वन तथा अन्य क्षेत्रमा एक्लै नहिँड्न तथा हिँड्नु परेमा सावधानी अपनाउन आग्रह गरेको छ ।





